Flash News

तेस्रो सातामा ‘ढोरपाटन’

१२ माघ २०८०, शुक्रबार ०८:०८

काठमाडौं । साल्पा फिल्म्सले निर्माण गरेको वृत्तचित्र ‘ढोरपाटन’ शुक्रबारबा प्रदर्शनको तेस्रो सातामा प्रवेश गरेको छ । अङ्ग्रेजी नाम ‘नो विन्टर होलिडेज’ रहेको वृत्तचित्र गत पौष २७ गतेदेखि राजधानीको सुनधारास्थित सिडीसी मलमा प्रदर्शन भएको थियो ।

फिल्मकर्मीसँगै दर्शकको उल्लेख्य उपस्थित भएपछि वृत्तचित्रका निर्माता, वितरक, र प्रदर्शकहरूले यसको नियमित प्रदर्शनलाई निरन्तरता दिने निर्णय लिएका हुन् ।

‘शुरुमा त हामीलाई यस वृत्तचित्रको दर्शक को हुन सक्लान भन्ने प्रश्न थियो र त्यसै अनुसार यसको प्रचार गर्यौ,’निर्माता राजन कठेतले भने, ‘तर अहिले हामीलाई दर्शकले ‘यो त छुटाउनै नहुने रहेछ, त्यसैले हेर्न आएको’ भन्ने किसिमको प्रतिक्रिया दिनुभयो र उत्साहित भई यसलाई हलमा निरन्तरता दिने निर्णय गर्यौ ।’

२०७५ फागुनदेखि निर्माण शुरु भएको वृत्तचित्रको विश्व प्रिमियर बेलायतको शेफिल्ड डकफेष्टमा गत असारमा भएको थियो । त्यसपछि एसियन प्रिमियर गत भदौमा दक्षिण कोरियाको डिएमजी डक्समा भएको थियो ।

तिहारअघि भारतको हिमाचल प्रदेशको धरमशालामा आयोजित ‘धरमशाला अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’मा पनि ‘ढोरपाटन’ देखाइएको थियो । त्यस्तै कलकत्ताको कोलकाता अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा यसले प्रशंसा बटुलेको थियो ।

वृत्तचित्र गत मंसिरमा काजाकस्तानमा आयोजित ‘प्रथम अल्टरनेटिभा फिल्म अवार्ड’मा ‘नेटिभा’ श्रेणीमा पुरस्कृत भएको थियो भने ‘नेपाल अन्तर्राष्ट्रिय मानव अधिकार चलचित्र महोत्सव’मा ‘सर्वोत्कृष्ट वृत्तचित्र’ घोषित भएको थियो ।

प्रतिक्रिया दिनुहोस्