काठमाडौँ। विज्ञानलाई चुनौती दिँदै पुवर थापा परिवारले तान्त्रिक विद्याअनुसार १ सय ८ भारी दाउराको आगोको भुँग्रोमा नाचेर खली खुवाउने काम सम्पन्न गरेका छन्।
गएराती चाँगुनारायण नगरपालिका वडा–५ पिखेल चौतारा, ढुङगेधार आसपास क्षेत्रमा बसोबास गर्ने पुवर थापा कपिल गोत्रका ४१ घरपरिवारका करिब २ सय जनाले विज्ञानलाई समेत चुनौती दिँदै तान्त्रिक विद्याअनुसार आगाको भुँग्रोमा नाचेर खली खुवाउने काम सम्पन्न गरेका हुन्।
यसरी खली खुवाउने काम सम्पन्न गर्न धामी गुरुहरुले तान्त्रिक विधिअनुसार एक महिना लगाएर कपिल गोत्रका पुवर थापा घरपरिवारले मान्दै आएका महाकाली, दक्षिणकाली र सोही कुलका १२ जना नयाँ डाङ्ग्रेहरु तयार परेका थिए।
ती डाग्रेहरु १२ वर्षका बच्चादेखि ७८ वर्षका वृद्धसम्म छन्। उनीहरु आगोको राप अर्थात कोइलामा खाली खुट्टाले टेकेर आगो पूर्ण रुपमा निभाएपछि पाको वायु भएको मानिन्छ। कुलायन पूजामा सहभागी बनेका डाग्रेहरुले खाली खुट्टाले आगोको भुँग्रोमा जान आफूहरुलाई सुरुमा डर लागेपनि पछि मज्जाले नाच्न सकेको प्रतिक्रिया दिएका छन्।
कुलपूजामा कुलको जिम्मा लिन तयार हुने व्यक्तिलाई डाङ्ग्रे भन्ने गरिन्छ। खली खुवाउने दिन बेलुका ती डाँग्रेहरुलाई गुरुहरुसहित १ सय ८ भारी दाउराको भुँग्रो खरानी नबन्दासम्म नाच्न लगाउने र त्यस पश्चात विभिन्न नाममा थापिएको देवी देवतालाई बली दिई डाँग्रेहरुलाई बत्ती खुवाएर खली खुवाउने काम सम्पन्न गर्ने परम्परा छ। धामी गुरु धमेन्द्र विष्टले खली खुवाउने कार्य गरे आफ्नो कुल गोत्रमा कोही अकालमा मृत्यु भए मोक्ष पाउने र आफ्नो कुल देवतालाई मान्दा प्रगति हुने विश्वास व्यक्त गरे।
आगोको भुँग्रोमा खाली खुट्टाले नाच्ने काम सामान्य नभएता पनि दैविक शक्तिकै कारण सम्भव भएको अर्का धामी गुरु साजन थापाले दाबी गरे।
एक्काइसौँ शताब्दीको वैज्ञानिक युगमा तान्त्रिक शक्तिमाथि धेरैले विश्वास नगरेपनि व्राम्हण, क्षेत्रीलगायत विभिन्न समुदायहरुले खली खुवाउने परम्परालाई निरन्तरता दिँदै आएका छन्।