Flash News

विदेशमा बसेर धारे हात लगाएर मात्र देश बन्दैन : मन्त्री लम्साल

२४ पुष २०८०, मंगलवार ०६:४१

रामेछाप । वाग्मती प्रदेशका श्रम रोजगार तथा यातायात मन्त्री लक्ष्मण लम्सालले अब पूर्वाधार विकासको कुरा मात्र होइन सु–संस्कृत समाज निर्माणको अभियानमा लाग्नुपर्ने बताएका छन् । उमाकुण्ड गाउँपालिकाको केन्द्र प्रीतिमा मंलगबार आयोजित राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताको समापन समारोहलाई सम्बोधन गर्दै लम्सालले यो देशमा केही गर्न सकिँदैन भन्ने भाष्य चिर्न आवश्यक रहेको बताए ।
‘देशमा केही गर्न सकिँदैन, दलले केही गर्दैनन् भन्ने भाष्य बनाउन खोजिँदैछ, त्यसकाविरुद्ध संघर्ष गर्नुपर्ने बेला आएको छ, यसका लागि युवालाई जागरण अभियानमा लैजान आवश्यक छ’, उनले भने ।

देश छाडेर जानेले सरापेर नेपाल नबन्ने लम्सालले स्पष्ट पारे । ‘देश छाडेर जानेहरूले धारे हात लगाएर देश बन्दैन, देश यही देशमा बस्ने धर्तीपुत्रले बनाउने हो’, उनले भने । नेपालमा गणतन्त्र अफाप भयो, प्रदेश सरकार चाहिँदैन भनेर केही शक्तिहरूले गलत प्रचार गरेको भन्दै उनले त्यसको प्रतिवाद गर्नुपर्नेमा जोड दिए । विकास निर्माणको हिसाबले पनि संघीयता आवश्यक रहेको उनले बताए ।
प्रकृतिको सुन्दर उपहारलाई नेपाल र नेपालीले उपयोग गर्न नसकेको उनले बताए । यस्तो प्राकृतिक सुन्दरतालाई छाडेर युवा सहर र विदेश पलायन हुनु दुःखको कुरा भएको लम्सालको भनाइ छ ।

अब स्थानीय स्तरमा विकास निर्माणका अगुवाइ त्यही स्थानका नागरिक र जनप्रतिनिधिले गर्नुपर्नेमा उनले जोड दिए । खेलकुदको विकासको लागि १० प्रतिशत बजेट छुट्याउनु पर्ने भएपनि त्यस अनुसारको बजेट छुट्याउन नसकेको उनले बताए । लम्सालले खेल खेलेर खेलाडीले इज्जत प्रतिष्ठा र पैसा मात्र कमाउने होइन, देशले नै नाम कमाउने बताए । खेलले व्यापार पनि बढाउने उनको भनाइ छ । पर्यटन प्रवद्र्धनको लागि खेलले ठूलो भूमिका खेल्ने लम्सालले बताए ।

प्रतिक्रिया दिनुहोस्